व्यापार, उपचार र शिक्षामा विदेशी मुद्रा सटहीको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यापार, उपचार र शिक्षाको लागि विदेशी मुद्रा सटही सुविधाको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै आयातकर्ताका लागि सटही सुविधामा सहुलियत दिएको हो ।

नेपाली नागरिकले विदेशमा उपचार गर्न वा स्वास्थ्य उपकरण खरीद गर्न १० हजार डलरसम्म सहटी सुविधा पाउँदै आएकोमा बढाएर १५ हजार डलर पुर्‍याइएको छ ।

यस्तै विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका शिक्षण संस्थालाई सम्बन्धन, परीक्षा लगायतका शुल्कहरुको भुक्तानीको लागि १२ हजार डलरसम्म सटही सुविधा उपलब्ध हुँदै आएकोमा बढाएर २५ हजार डलर बनाइएको छ ।

हवाईजहाज, दूरसञ्चार र स्वास्थ्य उपकरणका पार्टपूर्जाहरू तत्कालै विदेशबाट मगाउनु परे र विक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर १० हजार मूल्यसम्मका सामान अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने सीमालाई बढाएर एक लाख डलर पुर्‍याइएको छ ।

यस्तै राष्ट्र बैंकले सेवा व्यापारका लागि पनि सटही सुविधा दिने भएको छ । विदेशबाट रकम प्राप्त भएका आधारमा भारत तथा तेस्रो देशबाट आयात भएको सेवा भारतसहित अरू देशमासमेत निर्यात गर्न पाइने भएको हो ।

अब विदेशबाट विदेशी मुद्रा प्राप्त भएका आधारमा फर्म, कम्पनी, संघसंस्थाले भारत तथा तेस्रो देशबाट सेवा आयात गरी भारतसहित अरू देशमा निर्यात व्यापार गर्न सक्नेछन् । यसरी सेवा व्यापार गर्दा विदेशी मुद्रा प्राप्त गर्ने सम्बन्धित वाणिज्य बैंकले विदेशी मुद्रा सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

निर्यात रकम विदेशबाट सम्बन्धित वाणिज्य बैंकमा विदेशी मुद्रामा नै प्राप्त भएको हुनुपर्ने राष्ट्र बैंकको शर्त छ । यसरी प्राप्त रकम ननाघ्ने गरी निर्यात रकम प्राप्त गर्ने सम्बन्धित वाणिज्य बैंकले तेस्रो देशका हकमा १२ हजार अमेरिकी डलर र भारतका हकमा ३० लाख भारु सीमाभित्र रहने गरी आयातका लागि भुक्तानी सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here