काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण धमाधम

काठमाडौं । इलामको माइखोला बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण तीव्र पारिएको छ ।

नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाले संयुक्त रूपमा प्रसारण लाइन पुनर्निर्माण तथा पुनर्स्थापनाको काम गरिरहेका छन् । प्रसारण लाइन पुनर्निर्माण तथा पुनर्स्थापना तिहारअघि नै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

प्राधिकरणले प्रसारण लाइनका पाटपुर्जा लगायत सामग्री उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाले श्रम, लागत लगायत खर्च बेहोरेका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् ।

प्राधिकरण र निजी क्षेत्रले संयुक्त रूपमा नमूनाका रूपमा पुनर्निर्माण अगाडि बढाएका हुन् । निजी क्षेत्रले ऊर्जा उद्यमी मोहन कार्कीको नेतृत्वमा टोली खटाएका छन् ।

गत १२ असोजमा माइखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका १ र ७ धोद्रेबेंसीमा ४ वटा टावरमा क्षति पुर्‍याएको थियो ।

ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका २० वटा जलविद्युत् आयोजनाको करिब २०० मेगावाट विद्युत् प्रवाह हुने काबेली प्रसारण लाइनमा क्षति पुगेपछि १२ असोजदेखि उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द छ ।

विद्युत् उत्पादन बन्द हुँदा निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले दैनिक रूपमा आम्दानी गुमाइरहेका छन् । काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेंसीमा ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माइखोला बाढीले क्षति पुर्‍याएको थियो ।

उक्त स्थानबाट प्रसारण लाइनलाई माइखोला पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।

चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । बाढीले क्षति पुर्‍याएको टावरको जग हाल्ने काम भइरहेको छ । टावरका सम्पूर्ण पाटपूर्जा निर्माणस्थलमा पुर्‍याउने काम भइसकेको छ ।

५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत सकिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पुनर्निर्माणस्थलको अनुगमन गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘काबेली करिडोर प्रसारण लाइन बन्द हुँदा मुलुकको एकीकृत विद्युत् प्रणालीकै विश्वसनीयता प्रभावित भइरहेको छ, निजी क्षेत्रका जलविद्युत् आयोजनाले दैनिक रूपमा ठूलो आम्दानी गुमाइरहेका छन्, उत्पादन बन्द हुँदा भारतर्फको विद्युत् निर्यात प्रभावित भइरहेको छ,’ घिसिङले भने, ‘यसबाट सबैलाई ठूलो क्षति भइरहेको छ, त्यसैले जतिसक्दो छिट्टो पुनर्निर्माण सम्पन्न गरी लाइन सञ्चालनमा ल्याउने गरी सबैले काम गरौं ।’

निजी क्षेत्रका तर्फबाट पुनर्निर्माणमा खटेका कार्कीले सम्पूर्ण काम सकेर तिहारअघि नै विद्युत् प्रसारण सुरु गर्ने गरी काम भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here