बजारमा बढेन ‘कन्फिडेन्स’, निरन्तर घट्दै आयात

फाइलफोटो

काठमाडौं । चाडबाड मुखमा वस्तु आयात सामान्यतया बढ्ने गर्छ । तर, कोभिड महामारीयता यसो हुन सकेको छैन । यसपालि चाडबाड मुखमा समेत आयात बढेन बरु घट्यो ।

भन्सार विभागका अनुसार यस वर्ष असोजमा भदौको दाँजोमा समेत कम वस्तु आयात भएको छ । असोजमा १ खर्ब २८ अर्ब २० करोड रुपैयाँ बराबरको मात्र वस्तु आयात भएको छ ।

चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमास (साउन–असोज) मा कुल वस्तु आयात ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँको मात्र भएको छ । यो अघिल्लो आव यसै महिनासम्मको तुलनामा ४.१७ प्रतिशत कम हो ।

विज्ञहरुका अनुसार चाडबाडको मुखमा आयातमा उत्साह नदेखिनुमा मुलुकभित्र आन्तरिक माग कम हुनु एक कारण हो । किनकी उपभोक्ता विदेशिने क्रम रोकिएको छैन । अर्कोतर्फ मानिसको आम्दानी बढ्न सकेको छैन ।

भइरहेको आम्दानीले आधारभूत आवश्यकता नै खरीदमा ठिक्क हुने गरेको छ । असोजमा मात्र ५३ हजार ५ सय २५ नेपाली कामको खोजीमा विदेशिएका थिए । भदौमा यो संख्या ५० हजार ७ सय ७० थियो । साउनमा भने ५९ हजार ५ सय ७५ नेपाली रोजगारीका लागि विदेशिएका थिए ।

यस वर्ष साउनमा १ खर्ब २८ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । भदौमा केही बढेर १ खर्ब ३४ अर्ब रुपैयाँसम्म पुग्यो । असोजमा सामानको आयात घट्न गयो । जुन १ खर्ब २८ अर्बमा सीमित भयो ।

खासगरी चीनतर्फका धेरै सामान बाटोमा रोकिए । जुन चाडबाड लक्षित गरी मगाइएको थियो । यसको असर आयात तथ्यांकमा केही हदसम्म देखिएको छ । भारततर्फको व्यापार भने बाढीपहिरोले प्रभावित हुन पाएको थिएन ।

भन्सार विभागका अनुसार यस वर्ष पहिलो त्रैमासमा आयातमात्र होइन, निर्यात अझ कमजोर बनेको छ । तीन महिनामा ३८ अर्ब ३७ करोडको वस्तु निर्यात भएको छ ।

जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ६.११ प्रतिशत कम हो । अघिल्लो आवको पहिलो त्रैमासमा ४० अर्ब ८७ करोडको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात दुवैमा आएको कमीले कुल वैदेशिक व्यापारको आकार नै खुम्चिएको छ । भन्सार विभागका अनुसार असोजसम्म कुल ४ खर्ब २९ अर्ब १३ करोडको कुल वैदेशिक व्यापार भएको छ ।

जुन अघिल्लो आवको तुलनामा ४.३५ प्रतिशतले कम हो । गत आवको तीन महिनामा ४ खर्ब ४८ अर्ब रुपैयाँ बराबर कुल वैदेशिक व्यापार भएको थियो ।

चालु आव पहिलो तीन महिनामा व्यापार घाटा भने ३ खर्ब ५२ अर्ब रुपैयाँ बराबर भएको छ ।

व्यापार घाटा ३.९६ प्रतिशतले कम भएको देखिन्छ । यसो हुनुमा निर्यात बढ्दा व्यापार घाटामा सुधार आएको भने होइन, आयात कम हुँदा व्यापार घाटा समेत कम भएको विभागको तथ्यांकमा देखिन्छ ।

अहिले नेपालको कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९१।०६ र निर्यात हिस्सा ८।९४ प्रतिशत छ ।

पहिलो तीन महिनामा पेट्रोलियम पदार्थ ९इन्धन० आयातमै ६६ अर्ब ९१ करोड रुपैयाँ विदेशिएको छ । यस अवधिमा आइरन र स्टिल आयातमा ३३ अर्ब ११ करोड विदेशिएको विभागको तथ्यांक छ ।

नेपालको कुल निर्यातले पेट्रोलियम पदार्थको मात्र आयात पनि थेग्न नसक्ने अवस्था छ । यस अवधिमा २५ अर्ब २३ करोड रुपैयाँ बराबर सवारीसाधन आयात भएको छ । विद्युतीय सामान र उपकरण आयातका लागि २७ अर्ब ५८ करोड विदेशिएको छ ।

त्यस्तै १० अर्ब २० करोड बराबर औषधिजन्य सामग्री नेपाल भित्रिएको छ । नेपालले १ सय ३२ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ । जसमा सबैभन्दा धेरै भारतसँग छ ।

भारतबाट तीन महिनामा २ खर्ब ४० अर्ब रुपैयाँको सामान नेपाल आएको छ । नेपालबाट २४ अर्ब ८५ करोड बराबरको सामान भारत गएको छ । चीनबाट ७८ अर्ब ६३ करोड रुपैयाँको सामान नेपाल आएको छ । नेपालबाट ५५ करोड रुपैयाँको मात्र सामान चीन गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here