काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन् । मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपरान्ह अनुगमनका लागि मीनभवन स्थित विभागको कार्यालय पुगेका थिए ।
अनुगमनका क्रममा उनले सेवाग्राहीसँग समेत कुराकानी गरेका थिए । उनले विभागबाट प्रवाह सेवाबारे जानकारी लिएका थिए । सेवाग्राहीले छिटो छरितो सेवा प्रवाहको वातावरण बनाउन आग्रह गरे ।
सेवाग्राहीसँग कुराकानीपछि उनले लाइन नलागी सेवा लिने व्यवस्था मिलाउन विभागलाई निर्देशन दिए । उनले टोकन प्रणाली लागु गरी सेवा लिने प्रबन्ध गर्न समेत निर्देशन दिए । मन्त्री दाहालले डिजिटल सवारी चालक अनुमति पत्र र इम्बोस्ड नम्बर छपाइका बारेमा पनि जानकारी लिए ।
विभागका महानिर्देशक राजिव पोखरेलले हाल दैनिक ४ हजारका दरले चालक अनुमति पत्र छपाइ भई रहेको जानकारी दिए । प्रदेश स्तरबाट समेत छपाइ सुरु भएकाले विभागमा चाप केही घटे पनि डिजिटल कार्ड छपाइलाई चुस्त र नियमित बनाइएको उनको भनाइ छ ।
इम्बोस्ड नम्बर जडानलाई थप तीव्र र व्यवस्थित पारिने भन्दै पोखरेलले विद्युतीय सवारी दर्ता प्रणालीलाई देशै भर कार्यान्वयन गरिने बताए । नयाँ सडकहरूमा थप रुट निर्धारणका लागि अध्ययन भई रहेको विभागले जनाएको छ ।