नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम मंसिरभित्र सुरु नभएमा ठेक्का तोड्ने प्रधानमन्त्री ओलीको चेतावनी

file

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम आउँदो मंसिरभित्र सुरु नभएमा ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

रुपन्देही, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका जनप्रतिनिधिहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सो चेतावनी दिएका हुन् । प्रधानमन्त्री ओलीले आउँदो मंसिरभित्र काम सुरु नगरे बाध्यतावस ठेक्का तोड्नुपर्ने बताएका हुन् ।

सो अवसरमा उनले विश्वसनीय रुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्ने बताए ।

त्यस क्षेत्रका बासिन्दाहरुले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस विषयलाई गम्भीरताका साथ लिएर सम्बन्धित निकायले काम गनुपर्ने देखिन्छ उनले भने ।

‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छौं ।’ पूर्वी नवलपरासीको जिल्ला समन्वय समिति प्रमुख भगौती यादव रुदलले निर्माण कार्यमा लापरवाही भएको भन्दै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । उनले निर्माणको जिम्मा पाएको कम्पनीलाई काम छिटो सक्न कडा निर्देशन दिनुपर्ने बताए ।

चाइनास्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएकोमा हालसम्म ५२ प्रतिशत काम भएको जनाइएको छ । छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here