नबिल बैंक आठौं पटक धेरै कर तिर्ने बैंकका रुपमा सम्मानित

काठमाडौं । नबिल बैंक यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ ।

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ अहिलेसम्म आठपटक यो सम्मान प्राप्त गर्न सफल भएको छ ।

यो वर्ष पनि आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

शनिबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा बीच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई पुरस्कृत गरेका हुन् । उक्त कार्यक्रममा नबिल बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान लिएका छन् ।

नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थाहरू सहित विभिन्न विधाबाट सबैभन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मानित गर्दै आएको छ ।

यसअघि आर्थिक वर्ष २०६७–६८, २०७०–७१, २०७१–७२, २०७३–७४, २०७५–७६, २०७६–७७ र २०७७–७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो ।

नबिलले २४ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६८ शाखा र ३ सय २० एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here