नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्ने भएको छ। दरबारमार्गमा दिउँसो १:३० मा हुने जागरण सभामा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा जागरण सभा हुन लागेको हो। जागरण सभाअघि विभिन्न ठाउँबाट निकालिएको र्याली दरबारमार्ग पुग्ने एमालेले जनाएको छ।
भद्रकालीबाट सुरू हुने र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ सभा गर्न लागेको बताइएको छ ।



























