कीर्तिपुरमा कांग्रेस विजयी, माओवादी दोस्रो

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् । उनले पाँच हजार ३३४ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गरे ।

यहाँ नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर तेस्रो भए । सुरुदेखि दोस्रो स्थानमा रहेका मानन्धर अन्तिम मतगणनाका क्रममा तेस्रो भएका हुन् । उनले ४ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमेतको समर्थन रहेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन भने चौथो स्थानमा रहे । उनले २ हजार ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।

त्यतिबेला नेकपा एमालेका उम्मेदवार केश रत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए । माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले त्यतिबेला ४ हजार ९० मत प्राप्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here