काठमाडौं । आज तराईका धेरै स्थानमा हुस्सु लागेको छ । तराईको हुस्सु केही दिन कायम रहने सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तराईका धेरै स्थानमा हुस्सु लाग्ने र त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध समेत गरेका छन् ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेकाे विभागले जानकारी दिएकाे छ । साथै कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने छ । आज अपराह्नसम्म काठमाडौं उपत्यकामा आंशिक बादल लाग्ने भएकोले केही चिसो अनुभव हुने छ ।