काठमाडौं । आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई सिरिज सुरू हुँदै छ । पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । यी दुई मुलुक पहिलो पटक टी२० आईमा भिड्न लागेका हुन् ।
दिउँसो १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ। नेपालको कप्तानमा इन्दु बर्मा छन् भने नेदरल्याण्ड्सको कप्तानमा बाबेट डे लिडे छन् ।
नेपाली कप्तान इन्दुले ‘साढे दुई वर्षपछि घरेलु मैदानमा नै हुन लागेको यस श्रृंखलाका लागि धेरै उत्साहित रहेको बताएकी छिन् ।
पहिलोपटक नेपाल आउँदा उत्साहित भएको बताउँदै डच कप्तान डे लिडेले नेपालसँग पहिले खेल्ने अवसर नपाएपनि अब पाएको अवसरमा राम्रो खेल प्रदर्शन गर्ने बताएकी छिन् । श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने छन् ।
नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।
फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ ।