‘सेवा प्रवाह प्रभावकारी बनाउन प्रविधिमा जोड गरौं’

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवा प्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणाली पूर्णरूपमा आधुनिक, प्रभावकारी एवं विश्वसनीय बनाउन निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालय र मातहत निकायमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित छलफलमा उनले त्यस्तो निर्देशन दिएका हुन् ।

वर्तमान अवस्थामा सेवा प्रवाह चुस्तदुरुस्त एवं छिटोछरितो र प्रभावकारी बनाउन सूचना प्रविधि प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अब तदर्थवादी ढंगले चल्ने स्थिति नरहेको बताए ।

सेवा प्रवाह भरपर्दो र अविछिन्न ‍बनाउन अत्याधुनिक प्रविधि प्रयोग बढाउँदै जानुपर्ने, सूचना प्रणालीका कारण कुनै पनि काम प्रभावित हुन नहुने, साथै प्रविधि सञ्चालनका लागि आवश्यक योग्य जनशक्ति र प्राविधिक सक्षमता विकसित गर्दै जानसमेत उनले सम्बन्धित अधिकारीलाई निर्देशन दिए । हरेक निकाय सूचना प्रणालीमा सक्षम भएमात्र गुणस्तरीय सेवा प्रवाह हुन सक्ने अर्थमन्त्रीको भनाइ छ ।

छलफलमा सहभागी निकायका अधिकारीले आ–आफ्ना निकायमा सञ्चालनमा रहेका सूचना प्रविधि सम्बन्धी प्रणालीको आवधिक सेक्युरिटी अडिट गर्ने गरिएको र सुरक्षाका दृष्टिकोणले सबल रहेको बताउँदै प्रणालीको ब्याकअप क्षमता वृद्धि गर्न थप लगानी योजना प्रस्तुत गरेका थिए ।

साथै, सूचना प्रविधि प्रयोग बढाउँदै जाँदा दक्ष प्राविधिक जनशक्ति माग बढ्दै जाने तर त्यस्ता जनशक्ति संस्थाभित्र टिकाइ राख्‍न न्यून सेवा सुविधाका कारण चुनौतीपूर्ण रहेको बताएका थिए ।

यस्ता समस्या सम्बोधन गर्न सरकारले उपयुक्त नीतिगत निर्णय लिने पनि अर्थमन्त्री पौडेलले बताए । बैठकमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, महालेखा नियन्त्रकको कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नागरिक लगानी कोष, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नागरिक लगानी कोष, नेपाल स्टक एक्स्चेन्ज, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड लगायतका अधिकारीहरू सहभागी थिए ।