महाकूम्भमा भाग लिन भारत जाँदै कांग्रेस सभापति देउवा

काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भमा नेपाली कांग्रेसका नेताहरु जाने र फर्केने क्रम जारी छ ।

कांग्रेस महामन्त्री गगन थापा महाकुम्भ मेलामा सहभागी भएर फर्किएका छन् भने सभापति शेरबहादुर देउवा जाने तयारीमा छन् ।

देउवा महाकुम्भ मेलामा सहभागी हुनुका साथै इन्डिया फाउन्डेसनले आयोजना गर्ने दुई दिने समिटमा समेत भाग लिनेछन् । उनले आगामी शुक्रबार र शनिबार ‘कुम्भ ग्लोबल समिट अन डेभलप्मेन्ट एन्ड सस्टेइनबेलिटी’ विषयमा बोल्नेछन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने समिटमा अन्य देशका वक्ताहरु समेत छन् । देउवापक्षीय एक नेताका अनुसार भारत भ्रमणका क्रममा देउवाको दलका नेताहरुसँग संवाद हुने कार्यक्रम तय भएको छैन ।

महाकुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्याे

यसअघि कांग्रेस महामन्त्री थापा साथै प्रवक्ता डा. प्रकाशशरण महत, नेता अर्जुनरसिंह केसी, केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी लगायतका नेताहरु महाकुम्भमा पुगेर फर्केका छन् ।

महामन्त्री थापा मंगलबार राति भैरहवा आइपुगेर बुधबार पाल्पाको पार्टी कार्यक्रममा सहभागी हुन पुगेका छन् । थापा, महत र केसी परिवारका अन्य सदस्यहरु सहित प्रयागराज पुगेका थिए ।

पुस २९ मा औपचारिक रूपमा सुरु भएको महाकुम्भ ४५ दिनपछि आगामी बुधबार सकिँदैछ । कुम्भमेला हरेक १२ वर्षमा हुन्छ भने महाकुम्भ १४४ वर्षमा एक पटक आउँछ ।

कुम्भमेला प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा हुन्छ भने महाकुम्भ प्रयागराजमा हुने गर्छ । त्रिवेणी संगममा स्नान गर्दा आत्मिक शुद्धता हुने धार्मिक मान्यताले दशनार्थीहरु प्रयागराज पुग्ने गरेका छन् ।

प्रयागराज पुग्ने नेपालका नेताहरुले पनि महाकुम्भको अवसरमा गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भुत आध्यात्मिक शान्तिको अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here