काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ ।
उनको शव गतराति १२ बजे रुपन्देहीको सिद्धार्थननगर नगरपालिका ८ स्थित बैंकरोड कोलोनीमा ल्याइएको थियो । त्यसपछि स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिसक्दा आज विहीबार बिहान चार बजेको थियो ।
प्रकृतिको शव ओडिसाबाट गोरखपुरसम्म हवाईजहाजमा र गोरखपुरबाट घरसम्म गाडीमा ल्याइएको थियो ।
प्रकृति प्रकरणपछि धमाधम नेपाल आउँदै विद्यार्थी, कुन नाकाबाट कति आए ?
ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
सोही कलेजमा अध्ययनरत भारतकै विद्यार्थी अड्विक श्रीवास्तवले दिने गरेको मानसिक यातनामा कजेल प्रशासन मौन रहनु प्रकृतिको मृत्युको कारण भएको बताइएको छ ।

























