काठमाडौं । गृह मन्त्रालयले आगामी ५ चैतमा हुन लागेकाे स्ववियु चुनावको लागि सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनावको लागि सुरक्षा प्रवन्ध गर्न माग गरेपछि गृहले सुरक्षा निकायलाई यस्ताे निर्देशन दिएको हो ।
गृह मन्त्रालयले नेपाल प्रहरीको प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई स्ववियु चुनाव हुने क्याम्पसमा मतगणनाको कार्य पुरा नहुन्जेलसम्म सम्पूर्ण क्याम्पसहरूमा शान्ति सुरक्षाको व्यवस्था गर्न निर्दिष्ट गरेकाे हाे।
‘स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन सञ्चालन व्यवस्थापनका क्रममा सम्बन्धित सबै क्याम्पस व्यवस्थापनसँग आवश्यक समन्वय गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउनु हुन प्राप्त निवार्चन कार्यतालिका यसैसाथ संलग्न गरी पठाईएको व्यहोरा निर्देशानुसार अनुरोध छ,’ गृहको पत्रमा भनिएको छ ।
आज देखी निर्वाचन कार्यक्रम सुरु भएको छ ।