काठमाडौं । आज पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा घुमघाम पश्चात काठमाडौं फर्कदै छन् । यसैअवसर पारेर राजावादीहरुले धूमधाम स्वागत गर्ने तयारी गरेका छन् । राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनको तयारी गरेका छन् ।
राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने छन् । शाह विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास जाने हुँदा राजावादीहरु पनि उनलाई पुर्याउन र्यालीसहित निर्मल निवाससम्म पुग्ने छन् ।
त्यसका लागि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालका कार्यकर्ता राष्ट्रिय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्वीर अंकित ब्यानर एवम् पम्प्लेटसहित उपस्थित हुन भनिएको छ ।
अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, दुर्गा प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिने तयारीमा छन् । काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन तर्फबाट आउनेहरुको र्याली तिनकुनेमा जम्मा भएर विमानस्थलतर्फ अगाडि बढ्ने छ ।
यसैगरी गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोट भएरबाट आउनेहरु महाराजगञ्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला भएर विमानस्थलतर्फ अगाडि बढ्ने छ ।
काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ ।