काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालसम्म प्रधानमन्त्री नहुने तथा जनताकै साथमा रहने बताएका छन् ।
शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् । सो अवसरमा उनले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाए । ‘मेरो नजरमा ओली सरकारको काम भ्रष्टाचारीलाई बचाउने मात्रै छ उनले भने राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो,कुलमानलाई नै हेर्न सक्नुहुन्छ ।’
प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम गरिरहेको आरोप लगाए । ‘लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन । लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्, तपाईंहरूलाई थाहा छ, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनुभएको छ’ उनले भने, ‘उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने भएको छ ।’