वैदेशिक रोजगारमा जानेकाे नक्कली रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणसम्बन्धी प्रतिवेदन कार्यान्वयन गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको गलत मेडिकल रिपोर्ट दिने अभ्यासलाई नियन्त्रण गर्न डिजटललाइज गर्नुपर्ने उच्चस्तरीय विशेषज्ञ सम्मिलित कार्यदलको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

गत मंसिर ११ गते तत्कालिन अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंहको नेतृत्वमा गठित उच्चस्तरीय विशेषज्ञ सम्मिलित कार्यदलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई गुणस्तरीय स्वास्थ्य परीक्षण गर्न ‘सेन्टरलाइज्ड डिजिटल रेपोजिटरी सिस्टम’ स्थापना गर्न सरकारलाई सिफारिस गरेको थियो ।

जसअनुसार मन्त्री भण्डारीले मन्त्रीस्तरीय निर्णयबाट श्रमिकलाई उच्च तापक्रम (हिट स्ट्रेस)बाट हुने मुटु र मिर्गौला फेल जस्ता जटिल प्रकृतिका स्वास्थ्य समस्याबाट जोगाउन प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेका हुन् ।

श्रमले गत भदौ १३ गते वैदेशिक रोजगारीमा जाने र गएका नेपालीको स्वास्थ्य परीक्षणको बिषयमा अध्ययन गरी सुझाव दिन विज्ञ सम्मिलित ३० सदस्यीय अध्ययन कार्यदल बनाइएको थियो । साे कार्यदलमा वीर, टिचिङ, पाटन, सहिद धर्मभक्त, शुक्रराज टोपिकल, क्रिष्ट मेडिकल, तिलगंगा आँखा अस्पताल लगायतका विशेषज्ञ डाक्टरहरु छन् ।

कार्यदलका अध्यक्ष डा. सिंहले बिधि पुर्‍याउन मात्रै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण भइरहेकोले त्यसले समस्या निम्त्याउने बताए । ‘वास्तविक स्वास्थ्य परीक्षण छैन,’ उनले भने,‘सबै स्वास्थ्य संस्थालाई पूर्ण रुपमा डिजिटलाइजेशन गर्नुपर्छ। सबैको मेडिकल रिपोर्ट त्यसमा राख्नुपर्छ। श्रमिक आफै मेडिकल स्वास्थ्यमा जानैपर्ने वातावरण बनाउने दायित्व सरकारको हो ।’

उनले श्रमिक जानेदेखि कार्यस्थलमा रहदासम्म डिजिटल ट्र्याकिङ गरी श्रमिकको पुर्ण स्वास्थ्य विवरण राख्ने संयन्त्र विकास नभइ नहुने बताए । मन्त्रालयले अब परीक्षणको दायरा समेत बढाउने निर्णय गरेको छ । श्रमिकको मिर्गौला, थाइराइड र सुगरसम्बन्धी विशेष जाँच गर्नुपर्नेछ ।

मन्त्रालयले स्वास्थ्य संस्थाहरुले चिकित्सकको अनिवार्य उपस्थितिमा श्रमिकको स्वास्थ्य परीक्षण गर्नुपर्ने निर्णय गरेको छ । यसको लागि सरकारले स्वास्थ्य संस्थालाई प्रभावकारी र कडाइको साथ अनुगमन गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here