काठमाडौं । त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु चुनाव स्थगित भएको छ । गत ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएकोमा फेरि स्थगित भएको हाे। निर्वाचन समितिले मंगलबार राति सूचना जारी गर्दै
विद्यार्थीको तालाबन्दीका कारण चुनाव स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।
‘मतदानका लागि वातावरण सहज नदेखिएको र केही विद्यार्थीले क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी गरेकाले’ अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको बताइएकाे छ।
‘त्रि.वि. केन्द्रीय कार्यालय तथा अन्य सम्बद्ध पक्षसँगको परामर्शपछि मतदानको मिति र समय तोकी अर्को सूचना प्रकाशन गर्ने गरी चैत्र १३ मा तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मतदान कार्य स्थगित गरिएको छ,’ समितिले जारी गरेको सूचनामा लेखिएको छ ।
त्रिचन्द्रको स्ववियु अध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ । तीमध्ये स्ववियु अध्यक्षका उम्मेदवारद्वय विवेक बानियाँ र श्रीधर श्रेष्ठले मतपत्रको विषयलाई लिएर ताला लगाएका हुन् ।
निर्देशिका अनुसार गोलाप्रथाबाट उम्मेदवारको क्रम निर्धारण गर्ने भनिएको तर उम्मेदवारले दर्ताको आधारमा हुनुपर्ने माग राखेर ताला लगाएको निर्वाचन समितिले जनाएको छ ।