काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणले राजावादीहरुले राजनीतिक बेइमानी गरेको बताएका छन् । वैद्यले वक्तव्य जारी गर्दै यस्ताे बताएका हुन् । राजसंस्था पुनर्स्थापना गर्नपर्ने पक्षमा रहेको भनी गलत प्रचारबाजी गरेको बताउँदै त्यसको कडा शब्दमा खण्डन समेत गरेका हुन् । राजावादीहरुले किरणले पाँच वर्षअघि कम्बोडियाका राजा सिंहानुकको प्रसङ्गमा बोलेको विषयलाई लिएर गलत प्रचार गरिरहेका थिए ।
राजवादीहरूले केही निकट मिडियाका साथै सामाजिक सञ्जालमा ‘मोहन वैद्य वर्तमान परिस्थितिमा राजसंस्था पुनर्स्थापनाको पक्षमा’ भनी प्रचार गराएका थिए ।
‘यो नयाँ जनवादी गणतन्त्रको खुडकिलो पार गरी वैज्ञानिक समाजवाद तथा साम्यवादप्रतिको मेरो अटुट आस्था, विश्वास र त्यसका लागि मैले जीवनभर गर्दै आएको सङ्घर्ष प्रतिको आक्रमण मात्र होइन, राजनीतिक बेइमानी समेत हो’, उनले उल्लेख गरेका छन् ।
उनले यस्ता बेइमानी कदमलाई खारेज गरेको बताउँदै यी भ्रमलाई विश्वास नगर्न आग्रह गरेका छन् ।