इन्फ्रास्ट्रक्चर बैंक अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा समेटियो

काठमाडौं, २९ फागुन । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली र विद्युतीय चेक क्लियरिङ सेवा शुरु गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल क्लियरिङ हाउस लिमिटेडका विभिन्न भुक्तानी प्रणालीहरुमा आवद्ध गराउँदै लैजाने क्रममा कम्पनीले बैंकसँग विद्युतीय चेक क्लियरिङ र अन्तरबैंक विद्युतीय भुक्तानी सेवा सम्बन्धी सम्झौता गरी सेवा शुरु गराएको हो ।

उक्त सम्झौतामा नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्ताक्षर गरे । यसअनुरुप बैंकका ग्राहकहरुले प्रणालीमार्फत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा विद्युतीय माध्यममार्फत चेक राफसाफ गर्न सक्नेछन् भने अन्तरबैंक भुक्तानी प्रणालीमार्फत कुनैपनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तरबैंक कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउसले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ ।

हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणालीका लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली र अनलाईन मार्फत रियल टाईम विद्युतीय भुक्तानी गर्न कनेक्टआईपीएस ईपेमेण्ट प्रणाली लागू गरी सञ्चालन गर्दै आएको छ । चेक क्लियरिङ प्रणालीमा ८१ बैंक/वित्तीय संस्थार अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ७६ बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here