काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार व्यापक नयाँ भन्सार महसुल घोषणा गरे । यसलाई उनले ‘मुक्ति दिवस’ भनेका छन् । नयाँ भन्सार महसुलहरूले विश्वव्यापी व्यापार युद्ध निम्त्याउन सक्ने भन्दै विश्वव्यापी बहस सुरु भएको छ ।
अमेरिकाले नेपालमाथि १० प्रतिशत मात्र महसुल लगाउने भएको छ । यस क्रममा उनले गरेको सम्बोधनका मूख्य ६ बुँदा
अटो मोवाइलमा २५ प्रतिशत महसुल ः अमेरिकाले विदेशमा बनेका गाडीमा २५ प्रतिशत भन्सार महसुल लगाउनेछ। यसअघि अमेरिका अन्य देशहरूबाट आयात हुने मोटरसाइकलमा मात्र २.४ प्रतिशत भन्सार महसुल लिन्थ्यो । भारतले ६० प्रतिशत, भियतनामले ७० प्रतिशत र अन्य देशहरूले अझ बढी भन्सार महसुल लिने गरेका छन् ।
२. अमेरिका सबैभन्दा धनी देश बन्छ ः ट्रम्पले नयाँ भन्सार महसुल दर सार्वजनिक समारोहमा यो निर्णयले अमेरिकालाई फाइदा हुने बताए । ‘अब अमेरिका संसारको कुनै पनि देशभन्दा धनी हुनेछ। आज हामी अमेरिकी कामदारहरूको पक्षमा उभिएका छौँ। अन्ततः हामी ‘अमेरिका फर्स्ट’ नीति लागू गर्दैछौँ,’ उनले भने ।
३. भन्सार महसुलबाट बच्न अमेरिका मै उत्पादन गर्नुपर्ने ः अब अमेरिका भन्सार महसुलको मामलामा बराबरीको जवाफ दिने ट्रम्पले बताए । ‘जुन देशहरूले अमेरिकी बजारसम्म पहुँच चाहन्छन्, तिनीहरूले यसको मूल्य चुकाउनुपर्नेछ’ उनले भने, ‘जो कोही भन्सार महसुलबाट छुट चाहन्छ, उसले अमेरिका मै उत्पादन गर्नुपर्नेछ।’
४. रोजगारी र उद्योगहरू अमेरिका फर्किनेछन् : ट्रम्पका अनुसार धेरै देशहरूले अमेरिकी बजारको फाइदा उठाएर आफूलाई समृद्ध बनाए, तर अमेरिकी सामानका लागि आफ्ना बजार बन्द गरे। ‘अब अमेरिका पनि आफ्नै फाइदाबारे सोच्नेछ। रोजगारी र उद्योगहरू अमेरिका फर्कनेछन्,’ उनले भने ।
५. क्यानाडाको डेरी भन्सार महसुल अन्यायपूर्ण : क्यानाडाले डेरी उत्पादनहरूमा अत्यधिक भन्सार महसुल लगाएको ट्रम्पले गुनासो गरे ।’यो अमेरिकी किसानहरूका लागि अन्यायपूर्ण छ,’ उनले भने । उनले अगाडि थपे, ‘अमेरिका क्यानाडा र मेक्सिको जस्ता देशहरूलाई आफ्ना उद्योग जोगाउन अनुदान दिंदै आएको छ। अब हामी आफ्ना किसान र पशुपालकहरूको हकका लागि उभिनेछौँ।’
६. अमेरिकी आर्थिक स्वतन्त्रताको दिन : ट्रम्पले नयाँ भन्सार महसुल घोषणा भएको दिनलाई अमेरिकाको मुक्ति दिवसको रूपमा चित्रित गरे । ‘आजको दिन अमेरिका आर्थिक रूपमा स्वतन्त्र हुने दिन हो। हामी ‘जस्तालाई तस्तै भन्सार महसुल’ घोषणा गर्दैछौँ, जसअनुसार कुनै देशले अमेरिकामाथि जति शुल्क लगाउँछ, अमेरिका पनि उसैमाथि त्यति नै शुल्क लगाउनेछ ।’
ट्रम्पले सार्वजनिक गरे रेसिप्रोकल महसुल, नेपाललाई १० प्रतिशत मात्र