एक हप्ता वायु प्रदूषणमा सुधार नहुने, घरभित्रै बसेर काम गर्न आवह्वान

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरमा वायुप्रदूषण खतराको तह नजिक पुगेको भन्दै राष्ट्रिय विपत् जाेखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आवह्वान गरेकाे छ।

प्राधिकरणले सम्भव भएसम्म घरमै बस्न, कार्यालयका कामहरु घरबाटै व्यवस्थापन गर्न भनेकाे छ। त्यस्तै सवारी साधनको प्रयोग कम गर्न, घर, सडक तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिन, अत्याधिक धुलो र धुँवा उत्सर्जन गर्ने निर्माण कार्य केही समयलाई स्थगन गरी वातावरणमैत्री हुने गरी नियमन गर्न सझाव दिएकाे छ।

गर्मी मौसम बढेसँगै बढ्दो वन डढेलो र आगलागीका घटना, सडक निर्माण लगायतका निर्माण कार्यसँगै निस्केका धुलाका कण, सवारी प्रदूषण, फोहरमैला र फोहरमैला जलाउने कार्य, काठमाडौं उपत्यकाको भौगोलिक अवस्थिति, हिउँदे वर्षा कम हुनु र मनसुन सुरुवात नभईसकेको अवस्थामा केही दिन यता काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरको वायुप्रदूषण खतराको तह नजिक पुगेको छ।

वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) निकै अस्वास्थ्यकर बिन्दुमा पुगेको हुँदा मानिसहरुमा श्वासप्रश्वासमा समस्या, दम र फोक्सोको सङ्क्रमणको जोखिम, सुख्खा खोकी लाग्ने, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुख्खा हुने, एलर्जि र जलन हुने, टाउको दुख्ने, थकान महसुस हुने लगायतका स्वास्थ्य सम्बन्धी शारीरिक र मानसिक समस्या बढ्दै गएको देखिन्छ।

वायु प्रदूषणको गाम्भिर्यतालाई ध्यानमा राखी सम्भव भएसम्म अत्याधिक धुलो र धुँवा उत्सर्जन गर्ने निर्माण कार्य केही समयलाई स्थगन गरी वातावरणमैत्री हुने गरी नियमन गर्न भनेकाे छ।

वायुप्रदूषण विज्ञहरुका अनुसार अझै एक हप्ता वायुप्रदूषणमा सुधार नहुने देखिएको छ।

सम्बन्धित जिम्मेवार निकायले वायुप्रदूषणको अवस्थामा सुधार ल्याउन एवं संकटासन्न संवेदनशील समूहलाई सम्भावित असरबाट जोगाउन आवश्यक कदम चाल्नुहुन समेत प्राधिकरणले विशेष अपिल गरेकाे
छ।

फोहरमैलाको सही व्यवस्थापन गर्न एवं फोहरमैला नजलाउन, वन डढेलो लाग्नै नदिन र लागिहाले सावधानीपूर्वक नियन्त्रण गर्न भनेकाे छ।

यस्ताे अवस्थामा बच्चा, वृद्धवृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरुको विशेष हेरचाह गर्न र प्रदूषण बढेको बेला घरबाहिर निस्कँदा सुरक्षित मास्कको प्रयोग गर्न प्राधिकरणले अनुरोध गरेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here