कारोबार रोकिएका ३४ कम्पनीले मात्रै तिरे नवीकरण शुल्क

काठमाडौं,४ कात्तिक । नेप्सेले कारोबार रोक्का गरेका ८२ कम्पनीहरु मध्ये सोमवारसम्म ३४ कम्पनीहरुले मात्रै नवीकरण शुल्क तिरेका छन्।

सोमवार कारोबार खुल्नुअघि ३२ कम्पनीले मात्रै नविकरण शुल्क बुझाएपछि ती कम्पनीहरुको कारोबार खुल्ला भएको हो। नेप्से सूचीकरण शाखाका अनुसार २ वटा कम्पनीको भने कार्यालय खुलेपछि नवीकरण शुल्क तिरेकाले मंगलवार मात्र कारोबार खुल्नेछ ।

कारोवार खुल्नको लागि बिहान ११ बजे भन्दाअघि नवीकरण शुल्क बुझाई सक्नु पर्नेछ । नेप्से सूचीकरण शाखाका अनुसार अझै ४८ कम्पनीहरुको कारोबार रोक्का छ।

आइतबार कारोबार खुल्नुअघि सम्ममा ६ कम्पनीको मात्रै नविकरण शुल्क बुझाएपछि ती कम्पनीहरुको कारोबार खुल्ला भएको थियो ।

कारोबार रोक्का भएका कम्पनीले सुचीकरण दस्तुर बुझाउने वित्तिकै कारोबार खुल्ने नेप्सेले जनाएको छ। हरेक आर्थिक वर्ष समाप्तिको तीन महिनासम्ममा सूचीकरण नविकरण नगर्ने कम्पनीको शेयर कारोबार रोक्का हुन्छ।

नेप्सेले शुक्रबार ८२ कम्पनीले वार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएपछि शेयर कारोबार रोक्का गरेको थियो। नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण तथा कारोबार स्थगीत गरेकोे जनाएको छ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ मा चुक्ता पूँजी ५० करोड रुपैयाँ बरावरको शेयर सुचीकृत कम्पनीले वार्षिक रुपमा नविकरण शुल्क वापत ५० हजार रुपैयाँ र त्यस भन्दा धेरै चुक्ता पूँजी भएको कम्पनीले एक लाख रुपैयाँ बुझाउनु पर्ने व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here