टोयोटाको नयाँ ईभी ‘बिजि थ्रीएक्स’ अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक

नेपालमा भने जिएसि आयोन भिको लोकप्रियता बढ्दो

काठमाडौं । टोयोटाले आफ्नो तेस्रो पूर्णरूपमा विद्युतीय सवारीसाधन (ईभी) बिजि थ्री एक्स केही समयअघि चीनमा सार्वजनिक गरेको छ।

यो एसयूभी चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको हो। यद्यपि टोयोटाको ब्रान्डमा सार्वजनिक गरिएको भए पनि, यो मोडल जिएसि आयोनभी मा आधारित रहेको छ । जुन अहिले नेपाली बजारमा पनि उपलब्ध छ। टोयोटा बिजि थ्री एक्स मा जिएसि आयोन भीकै साइज, मोटर र ड्राइभट्रेन प्रयोग गरिएको छ, तर ब्याट्री प्रविधिमा भने केहि सुधार गरिएको बताइएको छ।

टोयोटाले सार्वजनिक गरेको नयाँ ईभी चीनमै उत्पादन गरिएको हो र गाडी सार्वजनिक भएसँगै एक घण्टामै १०,००० भन्दा बढी अर्डर प्राप्त भएको बताइएको छ। यसको लोकप्रियताले विद्युतीय सवारीप्रतिको विश्वव्यापी आकर्षण झल्काउँछ, जसको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको छ।

नेपालमा जिएसि आयोन ब्रान्डको आधिकारिक वितरक सिजि मोटर्स रहेको छ। कम्पनीले दुई महिनाअघि जिएसि आयोन भीलाई नेपाली बजारमा सार्वजनिक गरिसकेको छ। एसयूभीप्रतिको बढ्दो मागका बीच आयोन भीले नेपाली उपभोक्ताको ध्यान तानेको छ। यो गाडी टोयोटा बिजि थ्री एक्स सँग डिजाइन र प्रविधिमा निकट सम्बन्धित छ, जसले गर्दा अन्तर्राष्ट्रिय स्तरमा परीक्षण गरिसकिएको प्रविधि अब नेपाली सडकमा पनि अनुभव गर्न पाइनेछ।

आयोन भीकाे लम्बाइ ४,६०५ मिलिमिटर, चौडाइ १,८५४ मिलिमिटर र उचाइ १,६६० मिलिमिटर रहेको छ। ग्राउण्ड क्लियरेन्स १८५ मिलिमिटर रहेको यस गाडीमा १९ इन्चको मल्टि-स्पोक एल्युमिनियम ह्वील जडान गरिएको छ। गाडीको भित्री भाग लक्जरी डिजाइनमा तयार गरिएको छ, जसमा अगाडिका सिटहरूमा लेदर सामग्री प्रयोग गरिएको छ र तातो तथा चिसो दुवै सुविधा उपलब्ध छ। साथै, लक्जरी भेरियन्टमा स्मार्ट रेफ्रिजरेटर र फुड वार्मरको सुविधा दिइएको छ, जसले यात्रालाई थप सहज र आरामदायी बनाउँछ। प्यानोरामिक ग्लास रूफले गाडीको केबिनलाई खुला र रमणीय बनाउँछ। सुरक्षाका लागि यसमा सातवटा एयरब्याग जडान गरिएको छ।

सिजि मोटर्सले आयोन भीको सुरुवाती मूल्य नेपाली बजारमा ६४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। अन्तर्राष्ट्रिय बजारमा टोयोटा बिजिथ्रीएक्स को चाखलाग्दो प्रतिक्रिया र यसको आधार मोडल आयोन भी को नेपालमा बढ्दो लोकप्रियता हेर्दा, यो गाडी विद्युतीय सवारी रोज्ने नेपाली ग्राहकहरूको प्राथमिकतामा पर्न सक्ने प्रबल सम्भावना देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here