काठमाडौं। आज काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा बादल लागेको छ। भारतकाे न्यूनचापीय प्रणाली र पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावले देशका विभिन्न भेगमा बादल लागेकाे हाे।
कोशी प्रदेशबाट भित्रिएको यो प्रणालीको असरले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका पहाडी जिल्लाहरुमा छिटपुटदेखि हल्का खालको वर्षा हुने सम्भावना समेत छ ।
मंगलबार अपराह्नदेखि काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देखि पूर्वदेखि पश्चिमसम्मै पहाडी जिल्लाहरुमा वर्षाको सम्भावना छ।,’
वर्षाको सम्भावना विहीबारसम्मै छ। यसको प्रभाव भने नेपालका पूर्वी भूभागमा बढी र पश्चिम भूभागमा कम देखिने छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको समेत सम्भावना छ ।