काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना सन्देश दिएका छन् । विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गर्दै नयाँ वर्षको शुभकामना दिएका छन्।
समृद्धिको एक आधारका रुपमा शिक्षा क्षेत्र रहेका भन्दै गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्ताहरु लाग्नुपर्नेमा उनले जोड दिएका छन् । साथै शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको पनि बताएका छन् ।
अहिले अनिवार्य तथा निःशुःल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।
गरिबीलाई न्यूनीकरण नगरी राष्ट्रिय लक्ष्यमा पुग्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा हो ।’ त्यसैले बालबालिकाहरुलाई विद्यालय बाहिर राख्न नसकिने उनले उल्लेख गरेका छन् ।