बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ

काठमाडौं । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह पक्राउ परेका छन् । हस्ताक्षर किर्ते गरेको आरोपमा मुद्दा दर्तापछि फरार रहेका उनलाई सोमबार जनकपुरबाट पक्राउ गरिएको हाे। परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर नक्कल गरी कर्मचारी बर्खास्त गरेकाे आरोप लागेको थियो ।

साहले प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी र नायव सुब्बाहरू मदन चौधरी तथा सञ्जय मण्डललाई बर्खास्त गर्न निर्देशक पासवानको नक्कली हस्ताक्षरसहितको पत्र तयार पारी उच्च अदालतमा पेश गरेका थिए ।

निर्देशक पासवानले उक्त हस्ताक्षर आफ्नो नभएको भन्दै अदालत र प्रहरीमा किर्ते तथा जालसाजीको उजुरी दिएपछि विधि विज्ञान प्रयोगशालामा जाँच गर्दा किर्ते गरेको पुष्टि भएको थियो ।

प्रहरीले मुद्दा दर्ता गरेपछि उनी फरार रहेका थिए ।

नेकपा (एकीकृत समाजवादी) को सिफारिसमा परिषद्का अध्यक्ष नियुक्त भएका साह केही समयअघि मात्र पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here