काठमाडौँ । काठमाडौँ उपत्यकामा गएरातिदेखि परेको अविरल वर्षाका कारण विष्णुमती र बागमती नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज एक विशेष सूचना जारी गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँको गोङ्गबुस्थित विष्णुमती नदी र गौरीघाटस्थित बागमती नदीको जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘विष्णुमती नदी गोङ्गबु र बागमती नदी गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरूले सतर्कता अपनाईराखौँ।’
विभागले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, सुरक्षित स्थानमा रहन र सम्भावित जोखिमबाट बच्न पूर्वतयारी गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।






















