काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा भएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
महानगरले यस वर्ष प्रदान गर्न लागेको छात्रवृत्तिका लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो । शनिबार बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
महानगर शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २ सय २९ आवेदनमध्ये १६ हजार १ सय ३७ विद्यार्थी छनोट भएका थिए । जसमध्ये १४ हजार १ सय ७३ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।
परीक्षामा १० हजार ८ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण हुन न्यूनतम ४० अंक आवश्यक थियो र ४० अंक नकटाउने विद्यार्थीलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ । कक्षा १० को पाठ्यक्रममा आधारित परिक्षामा गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्न सोधिएका थिए ।
नतिजा महानगरको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ । विद्यार्थीहरूले आफ्नो एसईईको सिम्बोल नम्बर, जन्म मिति र इमेल वा एसएमएस मार्फत प्राप्त पासवर्ड प्रयोग गरी आफ्नो स्कोर कार्ड हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन् ।
काठमाडौं महानगर अन्तर्गतका १ सय ६० संस्थागत विद्यालयमा करिब ४ हजारभन्दा बढी छात्रवृत्ति सिट उपलब्ध छन् ।






















