काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेका २६ जना नेपाली सम्पर्कविहीन रहेको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले बेपत्ताहरूको सूची सार्वजनिक गर्दै उत्तर काशीमा २१ र पौडी गढवालमा ५ नेपाली बेपत्ता रहेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
दूतावासले स्थानीय भारतीय अधिकारीहरूसँग समन्वय गरी हराइरहेकाहरूको खोजी कार्यका लागि पहल गरिरहेको जनाएको छ ।
सोही बाढीमा बेपत्ता भएकामध्ये १३ जना नेपालीको सकुशल उद्धार गरिएको थियो । बाढीले उत्तरकाशी जिल्लाको धराली बजारमा सबैभन्दा बढी क्षति गरेको छ । धराली समुद्री सतहबाट झन्डै ३ हजार १०० मिटरको उचाइमा छ । यो चारधाम यात्रा मार्ग पनि हो ।
त्यसक्षेत्रमा विशेषगरी सुदूरपश्चिमका धेरै नेपालीहरू काम गर्नका लागि जाने गरेका छन् ।























