सकियो तिहार,नेवार समुदायले आज मनाए भाइटीका

काठमाडौं, १३ कात्तिक । नेपाल संवत ११४० मंगलबार देखि शुरु भएको छ । यो सँगै नेवार समुदायको नयाँ वर्ष सुरु भएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने थालिएको हो ।

कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ । नेपाल संवत् ११४० का अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेवार समुदायका गुठी, खलः, पुचः तथा सांस्कृतिक तथा साहित्यिक संघसंस्थाले भव्य रुपमा मनाएका छन् ।

नेवार समुदायले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाएका छन् । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन भाइटीका पर्व मनाइने भए पनि यस वर्ष तिथिको घटबढ भएकाले कार्तिक शुक्ल द्वितीयाको दोस्रो दिन नेवार समुदायले यो पर्व मनाएका हुन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा मङ्गलबार नै भाइटीका लगाउनुपर्ने उल्लेख छ । त्यसअनुसार नेवार समुदायका कतिपय मानिसले मङ्गलबार नै भाइटीका लगाएका थिए । समितिमा सदस्य रहेका कीर्तिमदन जोशी शास्त्रसम्मत् रुपमा मङ्गलबार नै भाइटीका ग्रहण गर्नुपर्नेमा राजनीतिक उद्देश्य बोकेका संस्थाको आह्वानमा नेवार समुदायलाई विभाजित गरिएको बताए ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई भाइटीका मनाइएको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वास छ ।

लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

यस वर्ष लक्ष्मीपूजादेखि नै नेवार समुदायका केही व्यक्तिले समितिले निर्णय गरेभन्दा अलग दिन तिहार पर्व मनाएका छन् । समितिले बृहत् अन्तरक्रिया गरेर निर्णय नगर्दा चाडपर्वमा विवाद आउने गरेको छ । धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई समितिको निर्णयअनुसार बिदा दिने निर्णय गरेको सरकारले तिहार लागिसकेपछि थप बिदा दिएर अन्योल सिर्जना गरेको बताए ।

विवाद समाधानमा भूमिका खेल्नुपर्नेमा बल्झाउन सरकार लागेको समितिमा आमन्त्रित सदस्यका रुपमा भूमिका निर्वाह गर्नुभएका वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्षसमेत उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here