काठमाडौं । प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै तीन दिने सत्याग्रह सुरु गरेका छन् ।
डा. केसीले धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन आयोजना गर्दै सत्याग्रह सुरु गरेको जानकारी दिएका हुन् ।
निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ, तर शिक्षाको गुणस्तर खस्किन् उनले भने खस्कनुको अर्थ स्वास्थ्य सेवामा ह्रास आउनु हो, जुन आम नेपालीको स्वास्थ्यसँग खेलबाड गर्नु हो ।’
डा. केसीले सरकार र चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयहरूले विद्यार्थी र जनतालाई लाभ नदिई उल्टै शिक्षा–स्वास्थ्य प्रणाली नै धरापमा पारेको आरोप लगाए ।
त्रिवि मेडिकल अध्ययन संस्थानले १०० विद्यार्थी पढाउन हिच्किचाइरहेको अवस्थामा पूर्वाधार र बिरामी चाप नपुग्ने निजी कलेजलाई १३० सिट दिनु दुर्भाग्यपूर्ण हो भएको उनकाे ठहर छ।
डा केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने लगायत माग राखेका छन्।
त्यस्तै अघिल्लाे सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न माग राखेका छन् ।


























