काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघले गम्भीर असहमति प्रकट गरेको छ।
महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने बताएको हाे।
‘नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखिनै बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने देखिएकोले सरकारी निर्णयप्रति महासंघ असहमति जनाउँदछ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै विकल्पबिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउनेमात्र नभई नागरिकको सूचनाको हक समेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकोमा महासंघ आश्चर्य प्रकट गर्दछ।’
साथै सामाजिक सञ्जाल नियमनको पक्षमा रहेको तर तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि माध्यम नियन्त्रणको कदमलाई कदापी स्वीकार नहुने विज्ञप्तिमा उल्लेख गरिएको हाे।
























