काठमाडौं । देशले जेनजी पुस्ताको चाहना अनुरुप नयाँ प्रधानमन्त्री पाएको छ । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै ‘मुलुकमा उत्पन्न विषम तथा असाधरण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकांक्षा अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त’ गरिएको जानकारी दिएकाे छ ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेले कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र चुनाव गराउने समेत उल्लेख गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार राजनीतिक दल तथा सरोकारवालाहरूसँग परामर्श समेतका आधारमा संविधान बमोजिम राष्ट्रपतिका अन्तरनिहीत संवैधानिक अधिकार प्रयोग गरेर कार्कीलाई नियुक्त गरिएको उल्लेख गरेको छ । ‘संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियत’ ले यो निर्णय लिएको भनिएको छ ।























