काठमाडौं । भदौ २३ र २४ गतेको प्रदर्शनीको क्रममा मृत्यु भएकामध्य ८ जनाकाे शव चिन्न नसक्ने अवस्थामा रहेका छन्। ४६ जनाको शव पोष्टमर्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको थियो। प्रदर्शनको क्रममा देशभर ७२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।
२० जनाको शव बाँकी भएकोमा ८ जनाको शरीर पूर्ण जलेकोले चिन्न सक्ने अवस्था छैन । ती शवकाे डिएनए टेष्टबाट पहिचान गर्नुपरने अवस्था छ।
पूर्ण शरीर जलेकाहरूको भने को हुन भनेर चिन्न पनि डिएनए गर्नुपर्नेछ।
त्यस्तै, पोष्टमर्टम हुन बाँकी रहेकामध्ये ११ जनाको शवको सनाखत भइसकेको छ। तर परिवार सम्पर्कमा आइसकेका छैनन्।
यसैबीच सोमबार बिहान बालुवाटारमा नवनियुक्त गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल, ऊर्जा तथा जलस्रोत सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहसचिव गोकर्णमणि दुवडी र प्रधानमन्त्रीको टिममा रहेका डा. अभिषेक सिंहले मृतकका परिवार, र जेनजी पुस्ताका प्रतिनिधिहरूसँग छलफल गरेका हुन्।
पीडित परिवारले सरकारसँग शव घरसम्म पुर्याइदिनुपर्ने र दाहसंस्कार खर्च दिनुपर्ने लगायतका माग राखेका छन्। यसबारेमा अर्को मन्त्रिपरिषदको बैठकमा छलफल गरिने भएको छ।
आइतबार प्रधानमन्त्री सुशिला कार्कीले मृतकलाई सहिद घोषणा गरी १० लाख रुपैयाँ परिवारलाई राहत दिने घोषणा गरेकी थिइन्।






















