२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन कुमार आचार्यले जेनजी युवा आन्दोलनका क्रममा देखिएका अराजक गतिविधिमा संलग्नलाई पार्टीसँगको आबद्धता त्याग्न र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।
नख्खु कारागारबाट सभापति रवि लामिछाने बाहिरिएपछि भएको आगजनी र तोडफोडमा पार्टी नेताहरू संलग्न रहेको प्रमाणित भए कानुनअनुसार कारबाही गर्न सरकारलाई आग्रह गर्दै त्यसमा रास्वपाको पूर्ण सहयोग रहने पनि बताएका छन् ।
पार्टीका नेताहरू प्रत्यक्ष वा परोक्ष रूपमा भीडलाई उक्साउने वा हिंसात्मक गतिविधिमा संलग्न भएको प्रमाणित भए बिनाशर्त अनुसन्धानको दायरामा ल्याउनुपर्ने आचार्यकाे भनाइ छ। उनले उल्लेख गरेका छन् ‘म वा मभन्दा माथिल्लो तहका वा तल्लो तहका जसैले संलग्नता देखाए पनि छानबिन र कारबाहीको दायरामा आउनुपर्छ ।’
घटनासँग प्रत्यक्ष र परोक्ष सम्बन्ध रहेको भन्दै विभिन्न भिडियोहरू र फोटोहरू आफूलाई प्राप्त भएको भन्दै उनले पार्टीको जिम्मेवार पदाधिकारीको रूपमा ती सबै सामग्रीहरू जस्ताका त्यस्तै अनुशासन आयोगसम्बद्ध सदस्यहरूलाई पठाएको उनले उल्लेख गरेका छन् ।
आचार्यले भनेका छन्, ‘रास्वपाजस्तो शान्ति र अहिंसात्मक राजनीतिलाई मूल मर्म बनाएको पार्टीले नेतृत्व वा समर्थकले गरेका कुनै पनि उग्रताको समर्थन गर्नसक्ने ठाउँ रहन्न ।’
उनले रास्वपा स्थापना कालदेखि नै अहिंसा र लोकतान्त्रिक मूल्यमा प्रतिबद्ध रहेको उल्लेख गर्दै पार्टीविरुद्ध मिथ्या सूचना र अफवाह फैलाउने षड्यन्त्र भइरहेको दाबीसमेत गरेका छन् ।






















