व्यापार घाटामा सुधार, तीन महिनामा ३ खर्ब ७ अर्ब

काठमाडौं १५, कात्तिक । चालू आर्थिक वर्षको सुरु देखि नै मुलुकको व्यापार घाटामा सुधार हुदै गएको छ । तीन महिना सम्मको वैदेशीक व्यापारको तथ्यांकले पनि त्यही देखाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्षको पहिलो तीन महिनामा मुलुकको कुल व्यापार घाटा ३ खर्ब ७ अर्ब ७८ करोड रुपैयाँ छ । गत वर्षको सोही अवधिको तुलनामा यो करिब १२ प्रतिशतले बढी हो । २०७५ असोजसम्म कुल व्यापार घाटा ३ खर्ब ४९ अर्ब ८४ करोड रहेको थियो ।

यो अवधिमा आयात घटेको र निर्यात बढेकाले व्यापार घाटामा सुधार भएको हो । यो आर्थिक वर्षको पहिलो महिना देखि नै व्यापार घाटा घट्दो अवस्थामा छ । गत साउनमा व्यापार घाटा करिब १४ प्रतिशतले र भदौमा साढे ३ प्रतिशतले घटेको थियो । गत वर्ष देखि नै सरकारले अनुत्पादक र विलाशीताका वस्तुको आयातमा नीतिगत कडाइ गरेको छ । त्यसको सकारात्मक असर व्यापार घाटामा परेको जानकारहरु बताउँछन् ।

३ खर्ब ३४ अर्बको आयात

गत भदौसम्म ३ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा आयात पनि १०.३४ प्रतिशतले घटेको हो । गत वर्षको पहिलो तीन महिनामा ३ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको तथ्यांक छ ।

निर्यात साढे १४ प्रतिशतले बढ्यो

यो वर्षको पहिलो तीन महिनामा नेपालबाट २७ अर्ब १६ करोड बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा निर्यात करिब साढे १४ प्रतिशतले बढी हो । गत वर्षको पहिलो तीन महिनामा २३ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु नेपालबाट निर्यात भएको थियो ।

वैदेशिक व्यापारमा ९ प्रतिशतको कमी

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कुल बैदेशिक व्यापार करिब ९ प्रतिशतले कमी आएको छ । २०७५ असोजसम्म कुल ३ खर्ब ९७ अर्ब ३२ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको थियो । २०७६ भदौमा कुल वैदेशिक व्यापार घटेर ३ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here