काठमाडौं । बाढी–पहिरो र वर्षाका कारण कोशी र बागमती प्रदेशका पाँच ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले बिहान ७ बजे सार्वजनिक गरेको विवरण अनुसार अविरल वर्षाले संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
त्यस्तै बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ मा नेपाल–चीन नाका जोड्ने पुलनेर सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
यसैगरी गोसाइँकुण्ड गाउँपालिका २ मै पासाङ ल्हामु सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।
यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ चारकिलो भन्ने स्थानमा पहिरो झरेर अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।






















