प्रदर्शनमा भएको क्षतिमा हिमालयन एभरेस्ट इन्स्योरेन्सद्धारा २१ करोड ७४ लाख बिमा भुक्तानी

गत भदौ २३ गतेको आन्दोलन र २४ गतेको प्रदर्शनका क्रममा क्षति पुगेका सम्पत्तिमध्ये हिमालयन एभरेस्ट इन्स्योरेन्सले हालसम्म २१ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीमा हालसम्म बिमा भई क्षतिपूर्ति दाबी गरिएका २ सय ८७ मध्ये २ सय ४५ वटा दाबीबापत सो रकम भुक्तानी गरिएको जनाइएको छ ।

कम्पनीका अनुसार उक्त रकम आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिको अग्रिम तथा अन्तिम दाबी भुक्तानीका रूपमा रहेको हो । नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्ध रहेको दाबी विभाग प्रमुख रोजराज लुइँटेलले जानकारी दिए ।

उनका अनुसार उच्च प्राथमिकताका साथ भइरहेको दाबी भुक्तानी आगामी असोज २१ गते मंगलबारदेखि पुनः यथावत् रूपमा सञ्चालन हुनेछ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमित ग्राहकलाई शीघ्र आर्थिक राहत दिलाउन दाबी प्रक्रिया तीव्र बनाएको जनाएको छ ।

यस प्रयासले बीमितलाई विपद्‌मा आर्थिक संरक्षण र राहत सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ । साथै, बिमा भई क्षतिपूर्तिको दाबी भुक्तानी बाँकी रहेका बीमितहरूलाई आवश्यक कागजात पूरा गरी आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न पनि कम्पनीले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here