१० कात्तिक, काठमाडौं । बाढी र पहिरोले रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीन र नेपालको व्यापार मुस्ताङतर्फ मोडिएको छ । पछिल्लो तीन महिनामा यो नाकाबाट साढे ५ अर्ब रुपैयाँ बराबरको आयात-निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
तथ्यांक अनुसार मुस्ताङ नाकाबाट असोज मसान्तसम्म ५ अर्ब २७ करोडको वस्तु आयात भएको छ । यस अवधिमा ९१ लाख ३२ हजार रुपैयाँ बराबरको वस्तु चीन तर्फ निर्यात भएको छ । नेपालमा कुल २९ भन्सार विन्दुबाट अन्तर्राष्ट्रिय व्यापार हुने गरेको छ ।
यसमध्ये मुस्ताङबाट भएको आयात कुल आयातको १.१३ प्रतिशत हो । असोजसम्म रसुवागढीबाट ३८ करोड ८१ लाखको मात्र वस्तु आयात भएको तथ्यांक छ । तातोपानीबाट भने ९ अर्ब ४४ करोडको सामान आएको छ । नेपालको सबैभन्दा धेरै व्यापार हुने भन्सार विन्दु भने वीरगन्ज हो । यस विन्दुबाट २ खर्ब १८ अर्बको वस्तु आयात भएको छ ।




















