काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातका कारण कोशी, मधेस र बागमतीका गरी २६ जिल्ला प्रभावित हुने बताएको छ।
प्राधिकरणका अनुसार कोशीको संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी प्रभावित हुने देखिएको छ। मधेसका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी प्रभावित हुने देखिएको छ । त्यस्तै बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली प्रभावित हुनेछन्।
मोन्था चक्रवातका कारण कोशी र बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
‘जल तथा मौसम विज्ञान विभागका ’मोन्था’का कारण २०८२ कात्तिक १३ गते बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुने देखिन्छ। उक्त प्रणालीको प्रभावबाट मधेश र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। प्राधिकरणका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुन्छ।
बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीमा बहाब उल्लेख्य बढ्ने र कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना भएकोले सतर्कता अपनाउन भनिएकाे छ।























