डेपुटी गभर्नर विवाद:पौडेलको संयोजकत्वमा छानविन समिति,श्रेष्ठ स्वतः निलम्बनमा

काठमाडौं, १८ कात्तिक । नेपाल राष्ट्र बैंकले डेपुटी गर्भनर शिवराज श्रेष्ठको विषयमा उत्पन्न विवादमाथि छानविन गर्न समिति गठन गरेको छ ।

राष्ट्र बैंक सञ्चालक समितिको सोमबार बिहान बसेको वैठकले समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा छानविन समिति बनाएको हो । समितिका सदस्यहरुमा सञ्चालक समितिका सदस्यहरु रामजी रेग्मी र सुबोध कुमार कर्ण रहेका छन् ।

समितिलाई छानबिन गर्नका लागि १ महिनाको समय दिइएको छ । एक महिनाभित्रमा समितिले छानबिन प्रतिवेदन सञ्चालक समितिमा पेश गर्नेछ । समिति गठन भएसँगै डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बनमा पर्ने कानूनी व्यवस्था छ ।

समिती गठन भएसँगै श्रेष्ठलाई अर्थ मन्त्रालयले निलम्बनको पत्र दिने छ। यसअघि आइतबार बसेको सञ्चालक समितिको बैठकमा नै समिति गठन हुने भनिएपनि सो विषयमा निर्णय भएको थिएन ।

वित्तीय स्थायित्व कायम राख्ने नीति विपरित काम गरेको, बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणमा देखिएका कमी कमजारी ढाकछोप गरेको सम्पत्ति शुद्धिकरण विपरित काममा सघाएको लगायत आरोप उनीमाथी लागेको छ ।

नेपाल राष्ट्र बैंकको ऐनको दफा २२ मा डेपुटी गभर्नर तथा संचालकहरु पदमुक्त हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार राष्ट्र बैंकले डेपुटी गभर्नरमाथि लागेको आरोप छानबिन गर्नका लागि समिति गठन गर्ने छ । समिति गठन हुनासाथ आरोप लागेको व्यक्ति स्वत पदबाट निलम्बन हुने कानूनी व्यवस्था राष्ट्र बैंक ऐनमा छ । श्रेष्ठ २०७२ सालमा डेपुटी गभर्नर भएका हुन ।

श्रेष्ठले आफू माथीको आरोप गतल भएको दाबी गरेका छन् । नयाँ गभर्नरको डैडधुप चलिरहेकाले आफूलाई पछि पार्न यस्तो आरोप लगाएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here