८ मंसिर, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित खानेपानीको बोतलमा तोकेभन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ ।
विभागले सोमबार विज्ञप्ति जारी गर्दै बोतलको पानीमा तोकेभन्दा बढी अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) रकम असुल नगर्न व्यवसायीलाई निर्देशन दिएको हो ।
पछिल्लाे समय हाेटल, रेस्टुरेन्ट लगायत स्थानमा बोतलको पानी एमआरपीभन्दा बढी मूल्यमा बिक्री भइरहेको गुनासो आएपछि विभागले यस्ताे निर्देशन दिएकाे हाे।
‘सिलबन्दी बोतलको पानी उपभोक्तालाई उपलब्ध गराउँदा एमआरपीभन्दा बढी रकम असुल नगर्नु हुन सूचित गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ। साथै, मेनुमा उल्लेखित वस्तु वा सेवा प्राप्त गरेपछि टेबुलमा लगिएको सिलबन्दी बोतलको पानीका लागि उपभोक्तासँग थप मूल्य लिनु कुनै पनि हालतमा उपयुक्त नदेखिने विज्ञप्तिमा भनिएकाे छ।
विभागका अनुसार उत्पादकले तोकेको एमआरपीभन्दा बढी मूल्यमा खानेपानी बिक्री गर्नु उपभोक्ता संरक्षण ऐन २०७५ तथा नियमावली २०७६ विपरीत कार्य हो । यदि कुनै उपभोक्ताले बढी मूल्य लिएको भन्दै उजुरी वा सप्रमाण दाबी गरे सम्बन्धित व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन तथा नियम अनुसार कारबाही स्वरूप जरिबाना र क्षतिपूर्ति समेत गरिने चेतावनी दिइएको छ ।























