२० मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिने बताएका छन् ।
शनिबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्। मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको र मधेशबाट सुरु भएको नयाँ समीकरण अब सबै प्रदेशमा देखिने दाबी उनको थियो ।
‘मधेशले अहिले भर्खरै पनि परम्परागत तथाकथित समीकरणको पछि नलागेर मधेश सरकार बनाउने बेलामा नेपाली कम्युनिस्ट पार्टी, मधेशवादी दल र नेपाली कांग्रेस समेत बनेर नयाँ सरकार बनेको छ’ उनले भने ‘मधेशबाट देखिएको यो सन्देश देशका बाँकी प्रदेशमा पनि अघि बढ्नेछ ।’
प्रचण्डले सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिने बताए । साथै त्यसको नेतृत्व नेकपाले गर्न तयार रहेकाे जानकारी दिए।
उनले एमालेभित्र रहेका बामपन्थी र क्रान्तिकारीका साथै अन्य कम्युनिष्ट पार्टीहरूलाई पनि नेकपामा एकताबद्ध गर्दै लैजाने याेजना सुनाए ।


























