२ पुस, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ट्रस्टको दरबारमार्गस्थित दुई रोपनी जग्गा लिजमा दिने निर्णय हुँदा ठगी भएकाे भन्दै बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
सीआईबीले नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थमसेर्कु डेभलपर्सका सञ्चालक सोनाम शेर्पामाथि ठगी र आपराधिक लाभको आरोपमा मुद्दा दायर भएको हो ।
नेपाल ट्रस्टले सात वर्षअघि दरबारमार्गस्थित जग्गा थमसेर्कुलाई लिजमा दिने निर्णय गर्दा अनियमितता भएको भनी प्रश्न उठिरहेको छ ।
अनियमितता र भ्रष्टाचारको पर्याप्त प्रमाण हुँदाहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात वर्षअघि मिलेमतोमा फाइल तामेलीमा राख्ने निर्णय गरेको थियो ।
निर्णयमा तत्कालीन सचिव अर्जुनबहादुर कार्की र सहसचिव लेखबहादुर कार्की संलग्न छन् । सीआईबीले ‘ठगी र आपराधिक विश्वासघात’को आरोपमा अनुसन्धान अघि बढाइएको दाबी गरेको थियो ।
उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको र उक्त सम्झौता नियम संगत नदेखिएको र ठगी गरेको सीआईबीको निष्कर्ष छ ।























