तराईमा शीतलहरको जोखिम बढेपछि प्राधिकरणले गर्याे पूर्वतयारी र प्रतिकार्यका लागि अपिल

९ पुस, काठमाडौँ । तराई क्षेत्रका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेकाे भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागले पुस १० गतेसम्मका लागि तराईमा हुस्सु, कुहिरो र शीतलहरको चेतावनी जारी गरेसँगै प्राधिकरणले सरोकारवाला निकायहरूलाई पूर्वतयारीमा लाग्न निर्देशन दिएको हो।

शीतलहर प्रतिकार्य योजना कार्यान्वयनमा प्राधिकरणले ‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ तर्जुमा गरी कार्यान्वयनका लागि सबै निकायमा पठाएको छ। शीतलहरबाट विशेष गरी गरिब र विपन्न वर्गका नागरिक बढी प्रभावित हुने भएकाले कार्ययोजना अनुसार आ-आफ्नो जिम्मेवारी निभाउन प्राधिकरणले संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरेको छ।

विज्ञप्तिमार्फत प्राधिकरणले शीतलहरको असर कम गर्न विभिन्न ६ बुँदे निर्देशनहरू जारी गरेको हाे।

१. सूचना र पूर्वानुमान : जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा प्राधिकरणबाट जारी हुने सूचना अनुसार आवश्यक कदम चाल्ने।

२. सचेतना कार्यक्रम : शीतलहरबाट बच्ने उपायहरूका बारेमा स्थानीय तहको समन्वयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने।

३. सार्वजनिक आश्रयस्थल : जोखिममा रहेका व्यक्तिहरूका लागि सार्वजनिक भवन, मठमन्दिर वा घरहरूमा न्यानो गरी बस्ने प्रबन्ध मिलाउने।

४. दाउराको व्यवस्था : अन्य विकल्प नभएका ठाउँमा डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा दाउरा उपलब्ध गराउने।

५. शीतलहर सम्बन्धी सचेतनामूलक सामग्रीहरू विभिन्न सञ्चार माध्यमबाट समुदायसम्म पुग्ने गरी प्रकाशन तथा प्रसारण गर्ने।

६. न्यानो लुगा र उपकरण : न्यानो लुगा र तातो बनाउने उपकरणहरू तयारी अवस्थामा राखी संकटासन्न परिवारलाई वितरण गर्ने व्यवस्था मिलाउने।

तराई र भित्री मधेसका जिल्लाहरूमा चिसोका कारण जनजीवन प्रभावित भइरहेको र सडक तथा हवाई यातायातमा समेत अवरोध पुग्ने देखिएकाले सतर्क रहन प्राधिकरणले सबैलाई आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here