भूमि आयोग कास्कीका अध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१६ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दिएको आरोपमा मुद्दा दायर गरेकाे हाे।

पोखरा महानगरपालिका–२६ लेखनाथमा रहेको सामूदायिक अमरज्योती आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा भूमी आयोगले नक्कली सुकुम्बासीको नाममा दर्ता गरेको आरोप छ।

तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र विचौलियाबिच भूमी आयोग कास्कीका प्रमुख नियुक्तिमा समेत लेनदेन भएको अडियो सार्वजनिक भएको थियो । उनीहरुविचको संवादमा भूमी व्यवस्थामन्त्री बलराम अधिकारीले अर्कैसँग घुस खाई कास्कीको भूमि आयोग अध्यक्ष नियुक्ति गरिसकेको कुराकानी बाहिरिएको थियो ।

साेहि अडियाेकाे आधारमा भूमी आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेल सहित सबै पदाधिकारीहरु भ्रष्टाचार मुद्दामा परेका हुन् । गैरसुकुम्बासीलाई झुटा विवरणका आधारमा सुकुम्बासी बनाएको देखिएको आरोप लगाएको छ । भीमबहादुर विकले आफ्नी पत्नी सुकुमाया कामीको नाममा जग्गा लिएको भन्दै अख्तियारले एक करोड ४० लाख रुपैंया हानीनोक्सानी भएको दावी गरेको हो ।

अख्तियारले भूमि आयोग कास्कीका सदस्य समेत रहेका कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, अरु सदस्यहरू आशबहादुर गुरुङ, उमाकुमारी थापा र सोमबहादुर नेपालीमाथि मुद्दा चलाएको हो । जग्गा पाउने भीमबहादुर विकलाई पनि अख्तियारले मुद्दा चलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here