जापानमा माइक्रोसफ्टका कर्मचारीलाई सातामा तीन दिन बिदा, नतिजा के आयो ?

जापान,२० कात्तिक । अधिक कार्य बोझका कारण कर्मचारीलाई आराम दिने उद्देश्यले माइक्रोसफ्ट कम्पनीले जापानस्थित कर्मचारीहरुलाई सातामा तीन दिन बिदाको परिक्षण गरेको छ ।

अगष्ट महिनाभर परिक्षणका रुपमा कम्पनीले थालेको यस अभियानको नतिजा उत्साहजनक देखिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । जापानी नागरिक काममा निकै तल्लिन हुन्छन् ।

आफ्नो जिम्मेवारीमा उनीहरु कहिले पनि चुक्दैनन् । त्यसो गरेमा उनीहरु ठूलो नैतिक पतन समेत सम्झन्छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार यी जापानी कर्मचारीको मानसिक स्वास्थ्यको ख्याल गर्दै माइक्रोसफ्टले सातामा तीन दिन बिदाको परिक्षण एक महिनासम्म गरेको थियो ।

यसबाट कर्मचारीको काम गर्ने क्षमता बढेको, कम्पनीको उत्पादन र बिक्रिमा समेत वृद्धि भएको र संचालन खर्च घटेको नतिजा प्राप्त भएको छ । माइक्रोसफट अमेरिकी सूचना प्रविधिसँग सम्बन्धित कम्पनी हो ।

अगष्ट महिनाभर माइक्रोसफ्टका कर्मचारीले शुक्रबारदेखि आइतबारसम्म लगातार बिदा पाएका थिए । यस्तो छुट्टी सबै स्थायी कर्मचारीलाई दिइएको थियो । साथै कम्पनीले कार्यालयमा अधिकतम बैठकको समय सीमा ३० मिनेट समय खेर फाल्नुको साटो च्याटका माध्यमबाट संचार स्थापित गर्न प्रोत्साहन गरेको थियो ।

कुराकानीका लागि इमेलभन्दा पनि अनलाइन च्याट बढी प्रभावकारी देखिएको र कम्पनीले सोही उपायलाई प्रोत्साहन गरेको छ । कार्यालय बन्द भएका कारण कम्पनीको विद्युत खपतदेखि अन्य संचलन खर्च समेत कम भएको छ । तर, बिक्रिमा भने कुनै कमी आएको छैन ।

माइक्रोसफ्ट जापानको यस प्रयोगले कर्मचारीलाई निरन्तर कार्यालयमा राखेर भन्दा विभिन्न प्रयोगका माध्यमबाट कर्मचारीबाट काम लिन सकिने पुष्टी भएको बताइएको छ ।

जापानले अधिक कामबाट मानसिक स्वास्थ्यमा असर पुगेको भन्दै कर्मचारीका लागि सहज हुने उपायबारे विभिन्न प्रयोग गर्दै आएको छ ।

यसले जापानमा जनसंख्या बढाउन समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ । किनकी जति धेरै बिदा दियो, त्यति धेरै समय दम्पत्ति संगै रहने र बच्चा जन्माउन समेत प्रोत्साहित हुन्छन् ।

जापानमा अहिले वृद्धको संख्या बढी छ । बच्चा जन्माउने कामलाई युवाहरुले झन्झट मान्दा निकट भविश्यमा युवा जनशक्तिको ठूलो अभाव जापानमा हुनेछ ।
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here