काठमाडौं । भक्तपुरको कमलविनायक बसपार्क नजिक टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।
कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२०प.११६८ नम्बरको स्कुटरसँग ठोक्किएपछि सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको हाे।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–८ निवासी २६ वर्षीय बिमल वनमालाको भक्तपुर अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
त्यसैगरी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुर नगरपालिका–७ इनाचोकका २४ वर्षीय राजेश वनमालाको ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
























