काठमाडौं । महानायक राजेश हमालले जापानका ६ सहरमा आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’को बुक–टुर गर्ने भएका छन् । एनआरएनए–जापानको आयोजनामा जापानका ६ सहर टोकियो, सिजुओका, नागोया, ओसाका, फुकुओका र ओकिनावामा हुने ‘युगदेखि युगसम्म ः सपना, साधना र सफलता’ शीर्षक कार्यक्रममा महानायक हमाल सहभागी हुने भएका हुन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास–जापान) को सहआयोजना एवं फाइनप्रिन्ट बुक्सको पहल र नेपाल एयरलाइन्सको सहयोगमा हुन लागेको कार्यक्रम ११ फेबु्रअरीमा टोकियो, १४ फेब्रुअरीमा सिजुओका, १५ फेबु्रअरीमा नागोया, १७ फेबु्रअरीमा ओसाका, १९ फेबु्रअरीमा फुकुओका र २० फेब्रुअरीमा ओकिनावामा हुनेछ ।
जापानमा रहेका आफ्ना शुभचिन्तक एवं पाठकहरूसमक्ष पुग्ने अवसर पाउँदा आफूलाई खुसी लागेको महानायक हमालले बताए । ‘म आफ्नो पुस्तकसहित जापानमा रहनुभएका नेपाली पाठकलाई भेट्न पाउँदा उत्साही छु । केही महिनाअघि जापान पुग्दा उहाँहरूले मेरो पुस्तकबारे चासो प्रकट गर्नुभएको थियो । यसपालि म उहाँहरूसँग मेरो जीवन, विचार र साधनाबारे मुखरित हुनेछु,’ हमालले भने ।
जापानमा रहेका नेपाली पाठक एवं महानायक हमालका शुभचिन्तकहरूसमक्ष हमाल र उनको पुस्तकलाई प्रस्तुत गर्न पाउँदा खुसी लागेको एनआरएनए–जापानका अध्यक्ष सुभास लामिछानेले बताए । यस्तै, फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरज भारीले पनि विदेशमा, खासगरी जापानमा नेपाली पुस्तक र साहित्यप्रेमीको संख्या ठूलो रहेको भन्दै ‘युगदेखि युगसम्म’ बुक–टुरले लेखक, प्रकाशक र पाठकको सम्बन्धलाई झन् नजिक ल्याउने विश्वास व्यक्त गरे ।
‘जापानमा हाम्रा धेरै पाठक हुनुहुन्छ । नेपाली विद्यार्थीहरू संख्या बढेसँगै नेपाली पुस्तकको माग पनि बढेको छ । नेपाल बाहिर फैलँदो पुस्तक बजारसँग जोडिने पहलस्वरूप यो कार्यक्रम आयोजना हुन गइरहेको हो,’ सिइओ भारीले भने, ‘धेरैभन्दा धेरै पाठकसँग भेट्ने र त्यहाँसम्म नेपाली पुस्तक सजिलोसँग पु¥याउने संयन्त्र निर्माण गर्ने हाम्रो कोसिस रहनेछ ।’
फाइनप्रिन्टले लेखक एवं पत्रकार यज्ञशसँगको सहकार्यमा राजेश हमालको जीवन कथा एवं सिनेमा र समाजबारे उनका विचारहरूको पुस्तक ‘युगदेखि युगसम्म’ प्रकाशन गरेको हो ।





















